२३ कात्तिक, काठमाडौं ।
भारत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली पुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थलसेनाध्यक्ष जनरल एमएम नरवाणेले साउथ ब्लकमा स्वागत गरेका छन् ।
प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । उनलाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।
सेनाका अनुसार भारतीय जल तथा हवाइ सेनाका प्रमुखहरुसँग पनि भेटवार्ता तय भएको छ । साथै उनले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

भारत भ्रमणमा भारतीय राजनीतिक नेतृत्वसँग पनि प्रधानसेनापतिको भेटका लागि कूटनीतिक पहल भैरहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउन पहल भैरहेको तर, भेट्ने निश्चित नभैसकेको उनले बताए । दिल्लीस्थित नेपाली नियोगले भेटघाटका लागि पहल गरिरहेपनि शिष्टाचार भेटवार्ताको जवाफ आइसकेको छैन ।
भ्रमणमा प्रधानसेनापति शर्माले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश भारतीय समकक्षीलाई दिने भएका छन् । प्रधानसेनापति शर्माको ९ सदस्यीय भ्रमण दल कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

