पुनः नेतृत्व हत्याउने रणनीतिमा देउवा

पुनः नेतृत्व हत्याउने रणनीतिमा देउवा

काठमाडौं : १४औं महाधिवेशनको संघारमा पुगेको नेपाली कांग्रेसको नेतृत्व लिने दाउमा रहेका वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्वका अर्का आकांक्षी रामचन्द्र पौडेललाई उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक बनाएका छन् ।

गठबन्धनका पाँच दलले पालैपालो दुई–दुई महिना नेतृत्व गर्ने सरकार सञ्चालनका लागि गठन गरिएको उक्त संयन्त्रको जिम्मेवारी महाधिवेशनको मुखैमा वरिष्ठ नेता पौडेललाई सुम्पिनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेसभित्रको प्रमुख गुटका रूपमा रहेको पौडेल समूहमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका शीर्ष नेताहरू छन् । यी सबै प्रभावशाली नेता आसन्न महाधिवेशनमा नेतृत्व हत्याउन अघि बढेका नेता हुन् । पौडेल समूहको पटक–पटक बसेको भेलाले आसन्न अधिवेशनमा एकमात्र साझा उम्मेदवार चयन गर्न नसकेको अवस्थामा सभापति देउवाले सरकार सञ्चालन गर्ने संयन्त्रको संयोजकको जिम्मेवारी दिएर आफ्ना प्रमुख प्रतिद्वन्द्वी पौडेललाई आफ्नो पक्षमा समेट्न खोजेको देखिन्छ ।

त्यति मात्र होइन, पौडेल समूहभित्र रहेका प्रभावशाली नेताहरूको उपगुटलाई पनि सभापति देउवाले आफ्नो पक्षमा समेट्न खोज्दै छन् । सभापतिका आकांक्षी महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य सुजाता कोइरालासँग पनि देउवाले विभिन्न स्रोतमार्फत आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहनुभएको छ ।

पछिल्लो समय वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग असन्तुष्टि राख्दै नेतृ सुजाता कोइरालाले उहाँहरू नेतृत्वका लागि अयोग्य भन्दै दिनुभएको अभिव्यक्तिबाट देउवा नेतृ कोइरालालाई आफ्नो पक्षमा ल्याउन प्रयासरत रहेको पुष्टि हुने पौडेल पक्षका नेताहरू बताउँछन् ।

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका देउवाले आफ्नो पक्षबाट बाहिरिएका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिको क्षतिपूर्ति अर्का नेता कृष्णप्रसाद सिटौलासँगको सम्बन्धबाट गर्न खोजिरहनुभएको छ । अहिले तल्लो तहको अधिवेशनमा पनि सिटौला समूह र देउवा समूह गुटगतरूपमा एक भएर अघि बढेका छन् ।

वडा अधिवेशनदेखि नै नेतृत्वमा आउने नेताहरूप्रति विशेष चासो राख्दै आएका देउवाले वडाबाट चुनिने क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति चयनमा विशेष ध्यान दिन थाल्नुभएको छ । सभापति देउवाका अनुसार हालसम्म सम्पन्न भएको १३ जिल्लाको १४ निर्वाचन क्षेत्रबाट चुनिएका ३ सय ५५ महाधिवेशन प्रतिनिधिमध्ये २ सय २१ जना उहाँको पक्षमा छन् । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्ला सभापति आफ्नो पक्षमा रहेको उहाँको दाबी छ । हालसम्म सम्पन्न भएको ४६ जिल्लाको पालिका अधिवेशनमा पनि नेतृत्वमा आफ्नो पक्षको बहुमत रहेको देउवाको दाबी छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.