सत्तारुढ गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपना चकनाचुर भयाे : माधव नेपाल

सत्तारुढ गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपना चकनाचुर भयाे  : माधव नेपाल

२७ कात्तिक, काठमाडाैँ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमती भएको र त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दावी समेत गरे ।सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमती गरिसकेको पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले भने, ‘पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमती गरेको छ । एउटा राष्ट्रियसभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गईरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमती भईसकेको छ । यो सहमतीले गठबन्धनको आयू लामो छैन र यिनीहरुबीचको एकतालाई तोडन सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन । हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस् ।’

अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गरे । कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए। उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ– आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गरेका थिए । नेकपा (एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक भोली (आईतबार)सम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.