खनिज इन्धन र कोइलाको प्रयोग घटाउने संकल्प गर्दै सकियो कोप २६

खनिज इन्धन र कोइलाको प्रयोग घटाउने संकल्प गर्दै सकियो कोप २६

२९ कार्तिक, काठमाडौं ।

हरितगृह ग्यास उत्सर्जनको स्रोत खनिज इन्धन र कोइलाको प्रयोग घटाउने संकल्प गर्दै दुई सातादेखि ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप २६) सम्पन्न भएको छ।

शनिवार सम्पन्न भएको सो सम्मेलनमा सहभागी देशहरूले अर्को वर्ष इजिप्टको सामएल शेखमा हुने कोप २७ मा भेला हुनुअघि ठूलो परिमाणमा कार्बन उत्सर्जन कटौतीको लक्ष्य लिने वाचा गरेका छन्। वार्ताको अन्त्यतिर कोइलालाई ‘फेज आउट’ गर्नुपर्नेमा विश्वका नेताहरुले दबाब दिएका थिए।

भारतका जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले यसप्रति आपत्ति प्रकट गरेपछि अन्तिम समयमा आएर वार्ता तनावपूर्ण बनेको थियो। हरितगृह ग्यास उत्सर्जनमा अग्रसर चीन र भारतले कोइला र खनिज इन्धनको प्रयोग घटाउने प्रतिबद्धता गरेपछि वार्ता सकारात्मक बनेको थियो।

भारत र चीन अन्तिम समयमा कोइलालाई ‘फेजआउट’ मा नभएर ‘फेज डाउन’ गर्नमा सहमत भएका छन्। खनिज इन्धनको प्रयोग कम गर्ने भनी गरिएको वाचालाई विश्वका नेताहरुले सकारात्मक भन्दै जलवायु सम्झौतामा हस्ताक्षर गरेका छन्।

ग्लास्गो जलवायु सम्झौता (ग्लास्गो क्लाइमेट प्याक्ट) ले देशहरूलाई सन् २०२२ को अन्त्यसम्ममा विगतमा वाचा गरेअनुसार उत्सर्जन घटाउने लक्ष्य पूरा गर्नसमेत दबाब दिएको छ।

अति कम विकसित मुलुक र जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरुले अनुकुलनकालागि थप रकम दिइने अपेक्षा पनि छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.