२९ कात्तिक, चितवन ।
नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकाे मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् ।
उनले भनिन्, ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छाैं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन् । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उनले बताइन् ।
महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनको बन्दसत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सबै कार्यपत्र सर्वसम्मतीले पास गरिएको घिमिरेले बताइन् । असफल बेलायती संसदीय व्यवस्थालाई नेपालमा पनि खारेज गर्नुपर्ने नीति मालेले लिएको छ ।
वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् । ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने ।
०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।