२ मंसिर, भक्तपुर ।
भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन्।
कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरू दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत भएका हुन्।
निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०÷७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ । पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।

