विराटनगर,साउन २३
विराटनगर महानगरपालिकाले गरेको अप्रत्याशित कर बृद्धिको यूवा संघ र वाईसीएल नेपालले सृजनात्मक विरोध गरेको छ ।महानगरपालिकाको मुलगेटमा रक्तदान कार्यक्रमको आयोजनागर्दै ती दुई संगठनले करबृद्धिको सृजनात्मक बिरोध गरेका हुन् ।
महानगरपालिकाले अवैज्ञानिक तवरले अप्रत्याशितरुपमा कर बृद्धिगर्दा महानगरवासी मर्कामा परेका कारण सृजनात्मक बिरोधस्वरुप रक्तदान कार्यक्रम गरिएको यूवा संघ नेपालका विराटनगर अध्यक्ष सुशिल रिजालले जानकारी दिए ।
नेकपाका नेता गणेश उप्रेतीले अस्वभाविक र अवैज्ञानिकरुपमा कर बृद्धि गर्दा महानगरवासी समस्यामा परेको बताए । उनले थपिएको कर अविलम्ब फिर्ता लिनुपर्ने माग गरे । विराटनगरका वर्तमान मेयर भीम पराजुली अवैज्ञानिक करको एजेण्डा बोकेर महानगरको प्रमुख सफल भएको अवस्थामा करबृद्धिको निर्णय गर्नु अस्वाभिक रहेको उनको भनाई छ ।
करको बृद्धि गर्ने नभई करको दायरा बढाउनुपर्ने उनको भनाई थियो । यूवा संघका जिल्ला अध्यक्ष नवीन पौडेलले महानगरपालिका आफैले करबृद्धि गरेको भएपनि केन्द्र र प्रदेश सरकारले कर बढाएको भन्दै जनतामा भ्रम छरेको दाबी गरे । कार्यक्रममा यूवा संघ र वाइसीएलका पदाधिकारी र सदस्य सहित सर्वसाधारणले रक्तदान गरेका थिए ।