स्कुल बस दुर्घटना, ३२ जना विद्यार्थी घाइते

विराटनगर, साउन २४
मोरङको पथरीशनिश्चरे –३ स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस बुधबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका सोही विद्यालयका चार जना विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ । अन्य घाईतेको पथरी अस्पतालमा उपचार भइरहेको छ ।

बोर्डिङ स्कुल छुट्टी भएपछि विद्यार्थी र्पुयाउन गएका बेला स्टेरिङलाई नियन्त्रणमा लिने लक खुस्किंदा बस सडकबाट धान खेतमा पल्टिएको जनाइएको छ । तत्काल उद्धार गर्न सकिएका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।