१० मंसिर, काठमाडौँ ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै स्थायी कमिटी सदस्य लीलामणि पोखरेल सहभागी भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी गएनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् । दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘महाभारत र खानीखोला गाउँपालिकामा पार्टीकै कार्यक्रम छ । उहाँ त्यहाँ हुने कार्यक्रमहरूमा सहभागी बन्नुहुन्छ । एमाले महाधिवेशनमा सहभागी हुन पार्टीले लीलामणि पोखरेललाई पठाएको छ ।’
राजनीतिक दलहरूले महाधिवेशनको उद्घाटन सत्रमा अन्य राजनीतिक दलहरूलाई पनि बोलाएर आतिथ्यता गराउने परम्पराबमोजिम एमालेले नेकपा एकीकृत समाजवादीबाहेकका दलहरूलाई निमन्त्रणा गरेको छ । महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।