दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइने

दिवा खाजा कार्यक्रमलाई  प्रभावकारी बनाइने

११ मंसिर, वीरगञ्ज।

पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ ।

विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी सङ्ख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्ति थियो ।

गरिब, जेहेन्दार एवं दलित परिवारका बालबालिकाको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन पालिकाले प्रयास थालेको हो । दिवा खाजाकै कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । दिवा खाजाको प्रभावकारितासम्बन्धी गाउँपालिकाभित्रका हरेक सामुदायिक विद्यालयमा अनुगमन गरिने उनको भनाइ थियो ।

यसैबीच धोबिनी गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा लामो समयदेखि रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु गरेकोे छ । उक्त गाउँपालिकाले कात्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि यहाँस्थित १७ वटा सामुदायिक विद्यालयमा दिवा खाजा पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले बताए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.