१५ मंसिर, काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले राजादेखि नेत्रविक्रम चन्द विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्न आग्रह गरेका छन् ।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भनाइप्रति इंगित गर्दै अध्यक्ष थापाले आफूहरू परिवर्तन विरोधी र प्रतिगमनकारी नभएको पनि दाबी गरेका हुन् ।
‘राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको विकास गरौँ । हामीले भनेको मौलिक प्रजातन्त्र खोजेको हो पुरानो व्यवस्थामा फर्किन्छौँ भनेको होइन,’ पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।
अध्यक्ष थापाले आफूहरूको राजासहितको प्रजातन्त्रको नारा अग्रगामी र मध्यमार्गी विचार रहेको पनि दाबी गरे । अन्य पार्टीहरूले उठाउने गरेको धार्मिक स्वतन्त्रताका पक्षमा आफूहरू पनि रहेको उल्लेख गर्दै उनले त्यसमा राजालाई थप्न मात्रै चाहेको बताए ।