१६ मंसिर, विराटनगर ।
छिमेकी देश भारतसँग पूर्ववत सहज अवस्था जस्तै गरी नियमित रुपमा विमान सेवा संचालन गर्ने दुवै देशको तयारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बाधक बनेको छ ।
दुई हप्ताअघि भारत सरकारले नेपाल र भारतबीच दैनिक ८ उडान गर्नेगरी नेपालसँग प्रस्ताव गरेको थियो । जसको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने बताएको थियो ।
तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एयरबबल स्कीम हटाएर अन्तराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको सरकार फेरी अन्योलमा परेको छ । नेपाल वायुसेवा निगमले कोरोना भाइरसको महामारी फैलिएपछि उडान बन्द गरेको भारतीय शहर मुम्बई र बैङ्लौरमा उडान शुरु गर्न गरेको तयारी कोरोनाको नयाँ भेरियन्टका कारण पुनः अन्योलमा परेको हो ।
भारत सरकारले १५ डिसेम्बरबाट एयर बबल स्किम हटाएर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । तर, बुधबार यो निर्णय स्थगित गरिएको छ । जसका कारण नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लौरमा गरेको उडानको तयारी समेत अवरुद्ध बनेको हो ।
नेपाल एयरलाइन्सले १८ डिसेम्बरबाट बैङ्लौरमा साताको दुई (मंगलबार र शनिबार) र मुम्बईमा १९ डिसेम्बरबाट साताको दुई (आइतबार र बुधबार) उडानको योजना बनाएको थियो ।
निगमले यो तालिका सार्वजनिक गर्ने तयारी गरिरहेकै समयमा भारतको नयाँ नियम सार्वजनिक भएको हो । जसले गर्दा निगमको भारतको उडान पुनः अवरुद्ध भएको हो । अहिले निगमले भारतको नयाँ दिल्लीमा दैनिक एक उडान गरिरहेको छ ।
निगमले काठमाडौंबाट दुबईमा भने थप दुई उडान गर्ने तयारी गरेको छ । काठमाडौं–दुबई–काठमाडौं रुटमा अहिले दैनिक एक उडान भइरहेको छ । ५ डिसेम्बरपछि आइतबार र बुधबार थप एक÷एक गरि सातामा कुल ९ उडानको योजना निगमले बनाएको छ ।