१८ मंसिर, चितवन।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र बन्न लागेको बताएका छन् । शनिबार चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।
आगामी निर्वाचनलाई इंगित गर्दै प्रचण्डले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’
आफूले पनि चितवनको विकासमा ध्यान दिएको उनको भनाइ थियो । त्यसैले सबैको महाधिवेशन चितवनमा भइरहेको उनको जिकिर थियो । गत साता चितवनमा सम्पन्न नेकपा (एमाले) को महाधिवेशनलाई भने उनले असफल भएको बताए । मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने उनको भनाइ थियो । महाधिवेशनले नयाँ विचार दिनुपर्ने प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा जारी रहेकाले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताएका छन् । उनले क्रान्तिको रक्षा गर्न सजग भएर लाग्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रतिगमनकारी कदम असफल भए प्रतिगामी खतराको अन्त्य भएको छैन ।’
उनले शान्तिपूर्ण ढंगले प्रतिक्रान्ति र प्रतिगमन रोक्न लागेको दाबी गरे ।