१९ मंसिर, कैलाली ।
नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । कुल खसेको १ हजार ३ मतमध्ये बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् ।
संस्थापन पक्षबाट सभापति उम्मेदवार बनेका बलायरले नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गरेका हुन् । मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका छन् । बलायर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक मन्त्रीसमेत छन् ।
यस्तै उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी ६ सय १०, लोकराज अवस्थी ५ सय २३, महामन्त्रीमा नरनारायण शाह (मनु) ६ सय ४८, मेघराज खड्का ६ सय ३५, सह–महामन्त्रीमा गोपालदत्त भट्ट ५ सय २९, चिन्तामणि भट्ट ५ सय ३३ र अम्बिका कुमारी चलाउनले ६ सय ८६ मत प्राप्त गरी विजयी भएका छन् ।
सुदूरपश्चि प्रदेश अधिवेशनको लागि १ हजार २६ मतदाता रहेका थिए । प्रदेश सदस्यको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।