१९ मंसिर, काठमाडौं ।
३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नका लागि इन्टरपोलबाट रेडकर्नर नोटिससमेत जारी भएको थियो ।
झापा साविक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय आइतबार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिइएकाे छ ।
‘सन्जिव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेतीसमेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरू मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो,’ प्रहरीले भनेको छ ।
गोरे भनिने चुडामणि उप्रेतिसमेत भएको आपराधिक समूह स्थापना र सञ्जालनमा भूमिका खेलेको आरोप उनीमाथि छ । उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको जनाइएकाे छ ।