म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय

२० मंसिर, एजेन्सी ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको भन्दै सैनिक सरकारले जेल सजाय ताेकेकाे  बीबीसीले जनाएको छ ।

७६ वर्षीया सुकीमाथि अन्य ११ आरोप पनि लगाइएको छ । तर सुकीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको भन्दै सत्ता हत्ताएको थियो । चुनावमा सुकीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुकीलाई घरमै नजरबन्द गरिएको छ ।

म्यानमारको सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुकी, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत नियन्त्रणमा लिएको थियो ।

Scroll to Top