२२ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार बुधबारसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए। छलफलपछि सभापतिका आकांक्षी मध्येका शशांक कोइरालाले दाबी छाडेको बताएका छन् ।
महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि बुधबार साँझसम्म आफूहरु पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दावी गरे । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल ग¥यौं । हामी सहमतिको निकै नजिक पुगेका छौं । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । हामीले विभिन्न कोणबाट छलफल ग¥यौ र अवको चुनौतिको सामना कसरी हामी गर्छोै । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौं । सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिकननजिक पुगेका छौं । केही प्रक्रिया पूरा गर्न बाँकि छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोली साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं ।’
नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिनेगरी सहमतिको नजिक पुगिएको दावी गरेका छन् । यता, संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।