२२ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका छन् । बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले बताए । उनले आफू अन्तिम निस्कर्षको बाटोतर्फ उन्मुख भएको बताउँदै आज बेलुकासम्म निर्णय गर्ने बताए । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको जानकारी समेत दिए । नेता केसीले भने, ‘हामी करिव अन्तिम निस्कर्षको बाटोतिर उन्मुख छौँ । अहिले जितेका कमसेकम ३२ जना जिल्ला सभापतिहरुसँग बसेर कुराकानी गर्दा विभिन्न सुझाव आएका छन् । ती सुझावहरुलाई लिएर ३ बजे फेरि बैठक बस्छौँ । त्यसपछि बेलुकासम्म निर्णय गर्दछौँ ।’
इतर समूहले जिते कोमामा पुगेको कांग्रेस फर्किन्छः जगदीश्वर नरसिंह केसी
त्यस्तै नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले वरिष्ठ नेता पौडेल र शशांक कोइरालाई साझा उम्मेदवार तोक्न दबाव दिएको बताए । उनले संस्थापन इतर समूह विचार र सिद्धान्तको समूह भएकोले बिपीको विचार र आर्दशमा रहेर अघि बढ्ने बताए ।
उनले संस्थापन इतर समूहले जितेमा कोमामा पुगेको नेपाली कांग्रेस फर्किने बताए । नेता केसीले भने, ‘हामीले आफ्ना आफ्ना सुझाव दिएका छौँ । रामचन्द्र दाई र शशांक दाईले प्रकाश दाई र शेखर दाईले मिलेर आउनुहुन्छ भने उहाँहरु दुईजना मध्ये एउटालाई उम्मेदवार बन्नुस् भन्नुभएको छ । एउटा विधि बनाएर आज ३÷४ बजेसम्ममा यो उम्मेदवार हो हाम्रो भनेर एउटा उम्मेदवार तोकेर पठाउनुस्, त्यो उम्मेदवारलाई युद्धस्तरमा लागेर जिताउनका लागि हामी लाग्छौँ । यो समूह भनेको विचार समूह हो । यसले बिपी कोईरालाले प्रतिपादन गर्नुभएको विचार, आदर्श, निष्ठालाई बचाउन सक्ने समूह यो हो । यो समूहलाई जिताएमा कोमामा पुगेको काँग्रेसलाई फर्काएर ल्याउन सकिन्छ । अन्यथा नेपाली काँग्रेस पार्टी चलेपनि विचार, आस्था, निष्ठा र बिपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजावदका विचिन्तनहरु अहिले शुन्य अवस्थामा छ, त्यसकारण जसरी हुन्छ आज बेलुका ४ बजेसम्म नेताहरुबाट नै अन्तरिम छलफल गरेर टुंग्याउनुस् भन्ने हाम्रो सुझाव छ ।’
संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन बैठक दिउँसो ३ बजे पुनः बोलाइएको छ ।