२३ मंसिर, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।
शर्माले आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने बताए । अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण उनकाे भनाइ थियाे । शर्माले भने, ‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो । हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए । उनले भने, ‘को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ। मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।’
प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ । अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको बताए ।