विराटनगर,साउन २८
सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड यसपटक विराटनगरमा हुने भएको छ । अवार्ड वितरक म्युजिक खबर डटकमले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको हो ।
कार्यक्रममा आयोजक संस्थाका सुमन बैरागीले ६ बर्षदेखि काठमाडौंमा आयोजना हुंदै आएको अवार्ड वितरण कार्यक्रमको सातौं संस्करण विराटनगरमा आयोजना गरिने बताए । उनले आन्तरिकरुपमा सांस्कृतिक प्रर्यटनलाई प्रर्बधन गर्दै गीतसंगीतको क्षेत्रलाई एकआपसमा जोड्न आगामी दिनहरुमा सातै प्रदेशमा अन्य संस्करणहरु आयोजना गरिने जानकारी दिए ।
असोज १३ गते स्थानीय बीरेन्द्र सभागृहमा आयोजना गरिने अवार्ड वितरण कार्यक्रममा विभिन्न ३३ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतिस्पर्धाका बिजयीले ट्रफी र प्रमाणपत्र पाउनेछन ।