पश्चिमा राष्ट्रहरूलाई आतङ्क सिर्जना नगर्न युक्रेनको आग्रह

१५ माघ, बीबीसी ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

Advertisement

निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए। बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताएका थिए।

तर रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए। रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ। जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताएका छन्।

Advertisement

नेटोको उपस्थिति बलियो बनाइँदै

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको उपस्थिति बलियो बनाउन सेनाको सानो टुकडी पूर्वी युरोपमा पठाउने बताएका थिए। उनले सेनाको उपस्थिति कहाँ हुनेछ वा उनीहरू कहिले त्यहाँ पुग्नेछन् भन्ने विषय भने स्पष्ट पारेनन्।

Advertisement

यसै हप्ता करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको थियो। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मुख्य मागलाई अस्वीकार गरिदिएको छ र समाधानका लागि रुसलाई गम्भीर कूटनीतिक बाटो प्रस्ताव गरिरहेकोमा जोड दिएको छ।

पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई पश्चिमा राष्ट्रहरूले बेवास्ता गरेको आरोप लगाए। तर पुटिनले भावी बाटो तय गर्नु अघि अमेरिकाको प्रतिक्रियालाई अध्ययन गर्ने बताएको उनका फ्रान्सेली समकक्षीसँग भएको टेलिफोन वार्ता पश्चात् क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आक्रमण भए रुसको अर्थतन्त्रलाई निशाना बनाइने

यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीवार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, म एकदमै प्रस्ट भन्न चाहन्छु, यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन। तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top