१५ माघ, एजेन्सी ।
अवैधरुपमा अमेरिका छिर्ने प्रयासमा रहेका चार भारतीयको अत्यधिक चिसोको कारण मृत्यु भएको छ।
क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडा हुँदै अमेरिका छिर्न लागेका भारतीय परिवारका सबैको चिसोको कारण मृत्यु भएको हो। उनीहरु मानव तस्करीसँग जोडिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।
क्यानडाको मानिटोबामा उनीहरु मृत फेला परेका हुन्। यो क्षेत्र अमेरिकाको सीमाभन्दा केही मात्र टाढा छ। रातको समयमा उक्त क्षेत्रको तापक्रम माइनस ३५ डिग्री सेल्सियससम्म झरेको थियो।
अत्यधिक चिसोको कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशैलविन पटेल, उनीहरुको ११ वर्षी छोरी विहंगी र ३ वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो। उनीहरुको शव जनवरी १९ मा फेला परेको थियो। भारतले पनि उनीहरु आफ्नो नागरिक भएको पुष्टि गरेको छ।
उनीहरु गुजरातको ढिंगुचा जिल्लाका बासिन्दा हुन्। उनीहरुका छिमेकीले दिएको जानकारीअनुसार पटेल परिवार जनवरी १२ मा भारतबाट क्यानडाको टोरोन्टो पुगेका थिए। त्यसपछि उनीहरु मनिबोटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरुको शव फेला परेको स्थान वरपर कुनै गाडी पनि भेटिएको छैन।
त्यसैले उनीहरुलाई कसैले आधा बाटोसम्म लगेर छाडिदिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्। जनवरी १९ मा नै मानव तस्करीको आरोपमा ७ भारतीय समूहको एक एजेन्टलाई पक्राउ गरिएको थियो।
यद्यपि उनले पटेल परिवार पनि यो समूहमा सामेल भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।