नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक आबुधावीमा सम्पन्न, नेपाली श्रमिक र रोजगारीको विषयमा छलफल

नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक आबुधावीमा सम्पन्न, नेपाली श्रमिक र रोजगारीको विषयमा छलफल

२ चैत, काठमाडौँ । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ ।

आबुधावीमा रहेको यूएईको मानव संशोधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता यूएईले गरेको छ ।

साथै यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरुलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनर्एकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि यूएईले जनाएको छ ।

यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निःशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत भएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे यूएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै रोजगारीको प्रलोभनमा परि पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो ।

यूएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गरेका थिए । बैठकमा उपसचिव डा. थानेश्वर भुषाल र श्रम सहचारी निर्मला थापा थिए भने यूएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्वन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्वन्ध विज्ञ राशा सालेह थिए ।

नेपाली श्रमिकको सुरक्षा र हितबारे मंगलवार नैश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच छलफल भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.