नेपालद्वारा यूएई १ सय ६८ रनमा अलआउट

नेपालद्वारा यूएई १ सय ६८ रनमा अलआउट

४ चैत्र, विराटनगर ।
तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले नेपाललाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफा ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रनमा आउट भए । सिपी रिजवान ८५ बलमा ४० रन जोडे ।

अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय ३५–४ को खराब सुरुवात गरेको युएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीलाई सोमपालले ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

सुरी आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए । १९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए ।

सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै प्रमुख तीन ब्याटरलाई पेभेलिएनको बाटो देखाएका थिए । वासिमले २८ बलमा ३ चौका प्रहार गरे । करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाटनै क्याच गराएपछि युएई १०.३ ओभरमा ३५.४ को अवस्थामा पुगेको थियो ।

रिजवानलाई ४ औं ओभरको तेस्रो बलमा सन्दीपले स्टम्पिङ आउट गर्दै साझेदारी तोडे । मुस्तफालाई ३९ औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरेका थिए । सागरको ४१ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए । सागरको ओडिआईमा यो पहिलो विकेट हो ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.