भरतपुर महानगर: एमालेले अघि सार्‍यो सुवेदी

भरतपुर महानगर: एमालेले अघि सार्‍यो सुवेदी

चितवन २७ चैत । नेकपा एमालेले भरतपुर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको नगर कमिटीको बैठकले विजय सुवेदीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाएको एमाले जिल्ला कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा उठेका देवी ज्ञवालीले सुवेदीको नाम प्रस्ताव गरेका थिए । त्यही नामलाई नै बैठकले अनुमोदन गरेको न्यौपानेले बताए । ‘हामीले  विजय सुवेदीलाई मेयरको उम्मेद्ववार बनाउने निर्णय सर्वसम्मत रुपले गरेका छौँ । पहिले मेयरमा प्रतिस्पर्धा गर्नुभएका ज्ञवालीले उहाँको नाम प्रस्ताव गर्नुभएको थियो,’ न्यौपानेले भने ।

सुवेदी बागमती प्रदेशसभाका सदस्य पनि हुन् । उनी बागमती प्रदेशको सामाजिक विकासमन्त्री समेत भएका थिए । ‘स्थानीय राजनीतिमा राम्रो छवी र भरतपुरको विकासमा योगदान पुर्‍याउनुभएकाले उहाँलाई अघि बढाउने निर्णय भएको हो,’ न्यौपानेले भने ।

एमालेले उम्मेदवार टुंगो लगाउँदा गठबन्धन दलमा भने कुनै सुरसार छैन । भरतपुर महानगरपालिकालाई माओवादी केन्द्र र कांग्रेस दुबैले प्रतिष्ठाको विषय बनाएका छन् । माओवादी केन्द्रले भरतपुर नछोड्ने बताइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.