काठमाडौं, २७ चैत । खुमलटार युथ क्लब पहिलो पटक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।
हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसीटी) लाई पछि पार्दै खुमलटार युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । आइतबार खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दा आरसीटी टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो ।
लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि पहिलो चरणमा खुमलटारसँग पराजित हुनु रानीपोखरीका लागि ए डिभिजन लिग उक्लिने अवसरको बाधक बन्यो । पहिलो चरणमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई ३–१ ले पराजित गरेको थियो ।
२०७० सालमा ‘सी’ डिभिजन विजेताको हैसियतमा दोस्रो डिभिजनमा बढुवा भएको खुमलटार लिगको पछिल्लो संस्करणमा पनि दोस्रो भएको थियो । तर, उक्त संस्करणमा एक टोलीमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजन लिगमै बसेको थियो ।
खुमलटारसँग पराजित भएसँगै सामाजिक युथ क्लब रेलिगेसनमा परेको छ । तालिकाको १३औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो । जुन रेलिगेसन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो ।
