विराटनगर, ३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले बुधबार विराटनगरमा आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले यस्तो बताएका हुन् ।
तोकिएकै मितिमा चुनाव हुने भन्दै शंका नगर्न आग्रह गरे । चुनाव रोकिए मुलुकमा ठूलो दुर्घटना निम्तने उनको चेतावनी थियो । तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन सबै लाग्नुपर्नेमा उनको जोड थियो ।
निर्वाचनको रकेट प्रक्षेपण भइसकेको थपलियाले बताए । चुनाव लोकतन्त्र र समृद्धिको सम्वाहक भएकाले यसलाई सफल बनाउन सबैले आफ्नो कार्य जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।
आयोगले निर्वाचन आचारसंहिता पूर्णरूपले कार्यान्वयन गराउन संयन्त्र निर्माण गरी अनुगमन गर्ने थपलियाले जानकारी दिए । प्रशिक्षणम कार्यक्रममा प्रदेश १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्ल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।