एसियाकपको छनोटका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

एसियाकपको छनोटका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, भदौ २
एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।

टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको छनोट गरिएको कप्तान खड्काले जानकारी दिए ।

टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदैं १७ र हङकङसँग भदौं १९ गते खेल्ने कप्तान खड्काले जानकारी दिए ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् भने उक्त प्रतियोगिता जित्ने टोलीले युएइमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।छनोटको विजेता टोलीले भदौ २८ गतेदेखि असोज १२ गतेसम्म यूएइमा हुने एसियाकपमा सहभागिता जनाउनेछ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.