९ जेष्ठ, विराटनगर । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा एकै पटक भारी मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो ।
नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो ।
१५ दिन नपुग्दै निगमले पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर २० रुपैयाँ मूल्य बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै सरकारले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मुल्य बढाउँदै आएको छ ।
पछिल्लो मूल्यवृद्धि पछि पनि निगमको नोक्सानी १५ दिनमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको दाबी छ । सरकारले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्ने नीति अनुसार यो मूल्यवृद्धि गरेको हो ।
केही दिनभित्रै सबै पेट्रोलियम पदार्थको परल मूल्य तोकिने पनि बताइएको छ । यो आधारमा ग्यासको मूल्य २६ सय ७९ रुपैयाँ पुग्नेछ । यो मूल्यवृद्धि पछि पनि पेट्रोल र डिजलमा लिटरमै १४ रुपैयाँ ६४ पैसा र २६ रुपैयाँ ८२ पैसा नोक्सानी रहेको निगमले जनाएको छ ।
निगमका अनुसार ग्यास एक सिलिण्डरमा अझै ८ सय ८९ रुपैयाँ ७५ पैसा नोक्सानी छ । नेपालले भारतको इन्डियन आयल कर्पोरेसनबाट इन्धन आपूर्ति गर्छ ।
मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकिएको निगमले जनाएको छ ।
भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा इन्धनको भाउ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारत सरकारले कर कटौती गर्दै शनिबार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनाएको छ ।
ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिइएको छ । नेपालमा भने इन्धनमा १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको एक सातामै उही दरमा फेरि भाउ बढाइएको छ ।