आज गणतन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रमको आयोजना

१५ जेष्ठ, काठमाडौँ । आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भई १५ वर्ष लागेको छ ।

जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।

संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन। चुनाव नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे ।

Advertisement

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

२०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ साल फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

Advertisement

नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा आए । त्यसपछि ज्ञानेन्द्र शाह दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा उनले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले वैशाख ११ गतेलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिनलाई नै गणतन्त्रको जगको रूपमा लिइन्छ । २०६३ साल जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्याे।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभा चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।

२०७० साल मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । संविधानबमोजिम तीनै तहको चुनाव भइ संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्।

यसैबीच, गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने कामना गरेका छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै देशलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।

उनले यो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा काठमाण्डौ टुँडीखेलमा विशेष कार्यक्रम भएको छ । हरेक वर्ष जस्तो यस वर्ष पनि दिवसका अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका छन् । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top