तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

काठमाडौँ, भदौ ५
इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ ।तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

आज भएको खेलमा महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा पुगेकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

बुधबार नेपालका भूपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्ने तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।एशियाली खेलकूदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपालले हालसम्म एक रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.