काठमाडौं,भदौ ६
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले तीन जिल्लाका पाँच ठाउँमा एकिकृत बस्ती बसाउने निर्णय गरेको हो ।
पहिलो एकिकृत बस्ती सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङमा निर्माण हुनेछ । सो एकीकृत बस्ती विकास योजनामा ४० घरधुरी रहनेछन् । त्यस्तै, दोश्रो एकिकृत बस्ती पनि सिन्धुपाल्चोक कै मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङमा निर्माण हुनेछ । सो बस्तीमा ७० घरधुरी रहनेछन् ।
सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथलीमा तेश्रोत एकीकृत नमूना निर्माण हुनेछ । जसमा १० घरधुरी रहनेछन् । चौथो एकिकृत बस्ती भने रामेछापको मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरामा निर्माण हुनेछ । त्यहाँ २४ घरधुरी रहनेछन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण हुनेछ । त्यहाँ ३७ घरधुरी रहनेछन् ।
प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत भएको छ । जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ छन् ।
बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।(विकास न्युजबाट)