१४ कात्तिक, एजेन्सी ।
भारतको गुजरातमा पुल चुँडिंदा १४३ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको झोलुंगे पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् ।
सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।
मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर गुजराती नववर्षको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । एक निजी कमपनीले उक्त पुलको ६ महिनासम्म र्ममत गरेको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।
मोरबी शहरको सरकारी वेबसाइटमा यो पुललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ । १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो । उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो ।
स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् ।
उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।