१८ कात्तिक, काठमाण्डौ ।
अहिले चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकले अर्काको अस्थित्व नै स्वीकार गर्ने पक्षमा देखिदैनन् । उनीहरुबीचको शीतयुद्ध नयाँ भने होइन ।
तत्कालीन समयमा सरकार चलाइरहेको नेकपा भित्रको विवादपछि झन्डै डेढवर्ष अघि देखि उनीहरु बीच आरोप प्रत्यारोपसँगै जनतालाई आफू मात्रै लोकतान्त्रिक, सत्यवादी भएको पुष्टि गर्न दोहोरी चलिरहेको छ । अहिले चुनाव प्रचारका क्रममा पनि विगतकै आक्षेप र आरोपहरु देखिन थालेका छन् ।
टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले लगातार ओलीमाथि आरोपहरु वर्षाइरहदा अहिले पाँच दलीय गठबन्धनको प्रमुख शक्ति मानिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ओलीमाथिको आक्षेपमा उत्रिएका छन् ।
प्रचण्डले चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाउदै उनलाई राजावादीको कित्तामा उभ्याइदिएका छन् । गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाए। उनले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए।
संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए।
ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष परेपछि परास्त गर्न सफल भएको दाबी गरे। लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’
उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ भएको समेत बताए। आफूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू रहेको गठबन्धन र अर्को केपी शर्मा ओली नेतृत्वमा गरी दुइटा गठबन्धन रहेको उनले बताए।
प्रचण्डले संविधान, लोकतन्त्र र समावेशी समानुपातिकको रक्षा गर्न आफूहरूले गठबन्धन गरेको बताए। ‘१२ बुँदे समझदारीको नयाँ कडी नै अहिलेको गठबन्धन हो,’ प्रचण्डले भने, ‘तर अहिले देशमा अर्को पनि गठबन्धन छ, राजावादीहरूको गठबन्धन। सामान्तवादीहरूको गठबन्धन। दलालहरूको गठबन्धन। यो देश टुक्याउनुपर्छ भन्ने अलगाववादीहरूसमेत भएको गठबन्धन।’
प्रचण्डले सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाउन जोड दिने, गोरखाका कच्ची सडक कालोपत्र गर्ने, बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउनेजस्ता योजना रहेको पनि सुनाएका थिए। प्रचण्ड गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार छन्। उनका विपक्षमा एक दर्जन उम्मेदवारको उम्मेदवारी परेपनि उनको प्रतिस्पर्धा भने एमालेका उम्मेदवार अब्दुस मियाँसँग हुने अनुमान गरिएको छ ।