२४ कात्तिक , एजेन्सी ।
सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रशारण अन्योलमा परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रशारण अधिकार खरिद गरेको मिडिया हबले विश्वकपका ६४ खेल हेरेवापत प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्क उठाउने तयारी गरेको थियो ।
सोहीअनुरुप विश्वकपको ग्राहक प्याकेज बिक्रीको प्रक्रिया अघि बढाएको थियो । त्यसविरुद्ध परेको मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘थप दस्तुर’ उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गर्नेक्रममा अदालतले मिडिया हबलाई कात्तिक ३० गते उपस्थित हुन आदेश गरेको छ ।
कतारमा विश्वकप हुन चार दिनको मात्र समय राखेर बोलाइएकाले नेपालमा विश्वकपको प्रसारण अन्योलमा परेको हो । अदालतको आदेशले विश्वकपको प्रशारण अन्योलमा परेको प्रशारण अधिकार खरिद गरेको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले जनाएका छन् ।
उनका अनुशार ‘अदालती प्रक्रियामा हाम्रो पूरा सम्मान छ । तर यथास्थितिमा राख्ने आदेशले सम्पूर्ण तयारी रोकिएको छ । यसले गर्दा समयमा प्रसारण सुरु गर्न चुनौतीपूर्ण भएको छ । धितालले फिफाबाट दक्षिण एसियाका लागि प्रशारण अधिकार प्राप्त गरेको भायकम १८ लाई हालसम्म मिडिया हबले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको र स्थानीय तहमा झन्डै थप ५ करोड रुपैयाँ खर्च भइसकेको बताएका छन् ।
एनका अनुशार विश्वकप नेपालमा देखाउनका लागि झन्डै ४५ करोड रुपैयाँ लागत लाग्ने छ । फिफाले विश्वकपका खेलहरूको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अरू कुनै पनि माध्यमबाट कतार विश्वकप हेर्न नपाइने उनको दाबी छ ।