४ मंसिर ,काठमाण्डौ ।
आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन।
सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेको उनको भनाइ छ । उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताए ।
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको हो । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताए।