९ पौष, एजेन्सी ।
शीतलहर र हिम आँधीका कारण अमेरिकामा लाखौँ मानिसहरु प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौँ उडान रद्द भएका छन् । साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् । क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए ।
ती क्षेत्रमा बिजुली कटौती हुँदा सयौँ हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्याएको थियो । विशाल आँधी टेक्सस देखि मेन सम्म २ हजार माइल फैलिएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । एल्क पार्क, मोन्टानामा तापमान माइनस ४५ डिग्री सेल्सियमा झ¥यो ।
पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । बफेलो र न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउ पर्ने अनुमान गरिएको छ । प्रशान्त उत्तरपश्चिममा केही बासिन्दाहरू सिएटल र पोर्टल्याण्डमा जमेको सडकहरूमा आइस–स्केटिंग गरेका देखिन्छन् । लुइसियाना, अलाबामा, फ्लोरिडा र जर्जिया जस्ता दक्षिणी राज्यहरू पनि प्रभावित छन् ।
यता नोभेम्बर सुरु भएसँगै चीनमा चारवटा चिसोका लहर देखिएका छन् । जसमा धेरै चिसो, हिमपात, ठूलो वर्षा र हुरी बतास चलेका छन् । नोभेम्बरदेखि डिसेम्बर १२ सम्म चिसोका कारण ३५ हजार चिनियाँ नागरिक प्रभावित भए । यसमा ३७५ मिलियन चिनियाँ यूयान बराबरको आर्थिक क्षति भएको चिनियाँ अखबारले जनाएको छ ।
शीतलहरलाई सामना गर्नका लागि चीनले एक खर्ब रुपैयाँभन्दा बजेट छुट्याएको छ । चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले प्राकृतिक प्रकोप राहत कोषमा ५.५८ बिलियन यूयान (एक खर्ब तीन अर्ब ८३ करोड नेपाली रुपैयाँ) व्यवस्थापन गरेका छन् ।
केन्द्रीय प्राकृतिक प्रकोप राहत कोषमा रकम व्यवस्थापन गरिएको र यसले जनतालाई सुरक्षित र न्यानोमा राख् मद्दत पुग्ने मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । उक्त रकम स्थानीय सरकारले यससम्बन्धी कार्य सञ्चालन गर्न, जनतालाई तत्काल राहत वितरण गर्न, अनुमगन तथा निरीक्षण लगायतका कार्यमा खर्च हुने छ ।