विराटनगर, भदौ १२
बुधबारदेखि सुरु हुने एशिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया पुगेको छ । प्रतियोगिताकै तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली आज उतैबाट मलेसिया पुगेको हो । टिमका मुख्य सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमियर लिग सीपीएल छाडेर मंगलबार सिधै मलेसिया पुग्नेछन् ।
यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्द खेल्न पाउनेछ । नेपालले बुधबार ओमानसँगको खेलसँगै एशिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एशिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एशियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् । यसअघि एक साताको विशेष प्रशिक्षणमा नेपालले खेलेका तीन अभ्यास खेलमा जित हासिल गरेको थियो । श्रीलंकाका प्रिमियर लिग टोलीहरु आर्मी क्रिकेट क्लव, ब्लुमफिल्ड क्रिकेट क्लव र कोल्ट्स क्रिकेट क्लवलाई नेपालले पराजित गरेको थियो ।