१९ माघ, एजेन्सी ।
रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पुग्दै गर्दा यही फेब्रुअरी २४ मा रुसले ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् ।
अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताएका छन् । युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ ।
अमेरिकाको युद्ध अध्ययन संस्था आईएसडब्ल्यूले हालै मात्रै मस्कोले निर्णायक कदम चाल्न र पूर्वमा ठूलो आक्रमण गर्न सक्ने बताएको थियो । रेज्निकोफले प्रत्याक्रमणको लागि तयारी गर्ने समेत बताएका छन् । युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई आउँदो वसन्तयामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गरेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएरातिको सम्बोधनमा द्वन्द्वको स्थितिले आफ्नो सेनाको परीक्षण गरिरहेको बताएका छन् । यता भौतिकरुपमा युक्रेनमाथि आक्रमण गरेपनि प्रतिबन्ध, मोर्चाबन्दी, दबाव, चेतावनी र वाकयुद्धसहित रुस अमेरिका र उसको नेतृत्वको नेटो मुलुकसंग जुधिरहेको छ । खासगरि अमेरिकाको यतिबेला रुससंगै चीनसंगको टकराव चुलिएको छ ।
यसैबीच अमेरिकाको सबैभन्दा ठूला दुई प्रतिद्वन्दी, रुस र चीनसंग नै दक्षिण अफ्रिकाले संयुक्त सैन्य अभ्यासमा भाग लिने भएको छ । जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको हो । यसले अमेरिका चिढिएको छ । अमेरिकाले संयुक्त सैन्य अभ्यासको आलोचना गरेको छ ।
जलसेनाहरूको १० दिने संयुक्त अभ्यास फेब्रुअरी १७ तारिखदेखि दक्षिण अफ्रिकाको तट नजिकै हिन्द महासागरमा हुनेछ । दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले उसको सशस्त्र बलका ३ सय ५० सदस्यहरू यो अभ्यासमा सहभागी हुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ । ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौगुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता एक हजार किलोमिटर परसम्म छ । सन् २०१९ मा तीनवटा देशले संयुक्त सैन्य अभ्यास गर्दा सातवटा जहाजहरू संलग्न थिए ।