काठमाडौं, भदौ १५
यातायात व्यवस्था विभागले ७ लाख ५० हजार स्मार्ट लाइसेन्स परिक्षण गर्ने भएको छ । मद्रास सेक्युरेटी कम्पनीले ल्याएको कार्ड विभागको मापदण्ड अनुसारको भए नभएको परिक्षण पुष्टी गर्न विभागले परिक्षण गर्न लागेको हो ।
विभागले ४५ दिनभित्रमा लाइसेन्स टेष्ट गर्ने कम्पनीको टुङ्गो लगाउने महानिर्देशक लावण्यकुमार ढकालले बताए । विभागले निर्धारण गरेको मापदण्ड पुरा नगरे कार्ड खरिद नगर्ने महानिर्देशक ढकालले बताए । ढकालका अनुसार कम्पनीले सबै स्मार्ट कार्ड उपलब्ध गराइसकेको र त्यसको भुक्तानी दिने प्रक्रियामा विभाग रहेको छ ।
लाइसेन्स परिक्षण गर्ने कम्पनीको छनोट गर्न बोलपत्र आब्हान भैसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार लाइसेन्स परिक्षणका लागि विभागले १९ लाख बजेट विनियोजन गरको छ । लाइसेन्स परिक्षणमा भाग लिन चाहने कम्पनीले १५ दिनभित्र आवेदन दिनु पर्नेछ । बोलपत्र मार्फत छनोट भएको कम्पनीले स्मार्ट कार्डको गुणस्तर परिक्षण गर्नेछ । करिब २० वटा कार्डको परिक्षण गरेर कम्पनीले विभागलाई बुझाउनु पर्नेछ ।
विभागले २०७२ सालदेखि लागू गरेको स्मार्ट लाइसेन्स फोटो प्रष्ट नदेखिने, नाम खुइलिने जस्ता समस्याहरु देखिदै आएको छ । यसअघि विभागले गरेको ग्लोबल टेन्डरमा कम मूल्यमा आपूर्ति गर्ने भएपछि भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले कार्ड छाप्ने जिम्मा पाएको हो । कम्पनीले ९ लाख ८० हजार डलरमा ठेक्का पाएको हो । भारतको चेन्नईमा मुख्य कार्यालय रहेको मद्रास प्रिन्टर्सले नै स्मार्ट लाइसेन्स प्रणाली तयार पारेको हो ।
कम्पनीले ०।९७ अमेरिकी डलर अर्थात् करिब १ सय रुपैयाँमा उपलब्ध गराएको छ । यस्तै लाइसेन्स छाप्ने मेसिन पनि सोहि कम्पनीसँग विभागले खरिद गरेको छ ।(विकास न्युजबाट)