१२ वैशाख, काठमाण्डौ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको औपचारिक जानकारी गराएका छन् । सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराए।
सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराएका छन् । सोही ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभाको उक्त स्थान रिक्त रहेको जानकारी गराएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।
श्रेष्ठले पार्टीको कोर टिमलाई साढे २ करोड रुपैयाँ बुझाए आफू मन्त्री बन्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो । सभामुखले सदनमा ढाकाकुमार श्रेष्ठको स्थान रिक्त भएको जानकारी गराएसँगै अव अर्को समानुपातिक उम्मेदवार निर्वाचित गर्न रास्वपालाई बाटो खुलेको छ ।
रास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा मकवानपुरकी विन्दवासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो ।