२१ वैशाख , काठमाण्डौ ।
बजेट निर्माणको चटारोबीच अर्थसचिव फेरिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको हो । उनी प्रधानमन्त्री कार्यालयमा थिए । अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ ।
नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो । तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले रायालाई ल्याएका थिए । एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको रुपमा आए ।
उनी आएपछि अर्थसचिव सरुवाको तयारी भएको थियो । रायाको सरुवा हुने भएपछि अर्थसचिवका लागि कृष्णहरि पुष्कर र पोखरेल दौडमा थिए । पुष्करप्रति अर्थमन्त्री महत सकारात्मक भएनन्। पुष्करलाई अर्थसचिव बनाउन महतलाई ठूलै दबाब आएपनि मानेनन्। त्यसपछि पोखरेल अर्थसचिव बनेका हुन्।
महतले केवल भण्डारीलाई सचिवमा ल्याउन सकारात्मक थिए । तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण उनले भण्डारीलाई ल्याउन नसकेको बताइएको छ । अर्थ सचिव पोखरेल २०५१ मा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा काम गरिसकेका छन् । सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता , सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेको उनीसँग अनुभव छ ।
उनी सुदुरपश्चिम प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन् । पोखरेलसंगै यो एक वर्षका बीचमा अर्थ मन्त्रालयमा ४ जना अर्थसचिव फेरिसकेका छन् । अर्थतन्त्र लगातार मन्दीतिर गइरहँदा अर्थ मन्त्रालयमा अर्थसचिवहरु आउने–जाने क्रम रोकिएको छैन । सरकार परिवर्तन र मन्त्री परिवर्तन हुनासाथ अर्थमन्त्री फेरिदै आएका छन् ।
तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानालाई विस्थापित गर्दै १७ साउन २०७८ मा अर्थसचिव बनेका मरासिनी गत वर्ष बजेट निर्माणका क्रममा अर्थमन्त्रालयभित्रै अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको विवादमा मुछिएका थिए । त्यसपछि जनार्दनले आफूसँगै विवादमा मुछिएपनि अर्थ सचिव हुन हतारिएका तत्कालीन राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिव बनाए ।
विवादास्पद पृष्ठभूमिका पुष्कर अर्थसचिव भएसँगै अर्थतन्त्रको अवस्था झन् अप्ठेरोतिर गयो । चुनावी सरकार रहिन्जेल पुष्करले अर्थ मन्त्रालय छाड्नु परेन । तर, १० पुसमा नेकपा एमालेसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै अर्थमन्त्री बनेका एमाले नेता विष्णु पौडेलले तोयम रायालाई अर्थ मन्त्रालय ल्याएका थिए ।
तर, एमाले सरकारबाट बाहिरिएसँगै अर्थमन्त्रीका रुपमा आएका डा. महतले एक महिनासम्म नयाँ अर्थ सचिव नल्याएपछि बजेटअघि सचिव परिवर्तन नहुने ठानिएको थियो । तर, बुधबार अर्थसचिवका रुपमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन् । अब उनले आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व गर्ने छन् । तर अर्थ मन्त्रालयका अधिकारीहरु भने बजेटको मुखमै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने बताउँछन् ।