प्रहरीको घेरामा कोशी प्रदेशसभा, विराटनगरमा निषेधाज्ञा /२ दर्जन ब्यक्ति पक्राउ

१४ जेठ, विराटनगर ।

कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। दोस्रो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। कोशी प्रदेश सभाको बैठक फागुन १७ गतेपछि पहिलोपटक बस्न लागेको हो।

फागुन १७ मा बसेको प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतबाट पारित गरेको थियो। त्यसपछि प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो। प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने तथा केही ऐनहरु संशोधन गर्ने विधेय पेस गर्ने कार्यसूची छ।

Advertisement

यस्तै, सरकारले २ वटा अध्यादेश पनि प्रदेश सभामा पेस गर्ने तयारी छ। प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ। पहिचान पक्षधरहरुले भने प्रदेश सभा केन्द्रित आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

प्रदेशको नामाङ्कन गर्ने थलो प्रदेश सभा नै भएकाले प्रदेश सभा केन्द्रित आन्दोलन गरिने पहिचानवादी नेताहरुको भनाइ छ। पहिचान पक्षधरहरुले आफूहरुले प्रदेश सभा भवन घेराउ गर्ने र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने जनाएका छन्। पहिचान पक्षधरले प्रदेश सभा केन्द्रित आन्दोलन गर्ने भनेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

Advertisement

पहिचान पक्षधरहरु बिहानदेखि नै प्रदेश सभा परिसर वरपर जम्मा हुन थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो। प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरु आन्दोलिन छन्। प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने ३० जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका ३० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी छ । प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शुक्रबार निषेधाज्ञा जारी गर्दै केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । जसअनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ । निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम रोक लगाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top