२८ जेठ, एजेन्सी ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीे पहिलोपटक युरोपेली च्याम्पियन बनेको छ । स्पेनिस मिडफिल्डर रोड्रीले दोस्रो हाफमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार इन्टर मिलानलाई १–० ले पराजित गर्यो । सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतिक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल गरेको छ ।
एकै सिजनमा तीन उपाधि जित्ने कठिन उपलब्धि हासिल गर्ने क्रममा सिटीले इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलमा हराएको हो । सिटीले यसअघि इंग्लिस प्रिमियर लिग र एफएकप जितेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले एकै सिजन तीन उपाधि जितेयता सिटीले अहिले त्यस्तै उपलब्धी दोहराएको हो ।
इंग्लिस फुटबलमा लगातार वर्चश्व कायम गरेयता सिटीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको हो । यससँगै पेप ग्वार्डिओलाको सिटीले एकै सिजन तीन ठूला उपाधि चुमेको हो । बर्नार्डो सिल्भाले बनाएको अवसरमा रोड्रीले ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
उनले रिबाउन्डमा आएको बलमा गरेको शक्तिशाली प्रहार इन्टरको डिफेन्स लाइन र गोलरक्षक बिट गर्न सफल भएको थियो । सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकमा स्थापित गरे । उनले बार्सिलोनामा जितेको दुई च्याम्पियन्स लिग उपाधिमा अर्को पंक्ति थपे ।तर उनलाई दोस्रो बाट तेस्रो उपाधि जित्न १२ वर्ष लाग्यो ।
अर्कोतिर अर्जेन्टिनाका युवा स्ट्राइकर जुलियन अल्भारेजले एकै सिजन विश्वकप, एफए कप, इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगसहित चार उपाधि चुमेका छन् । नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले बोरूसिया डर्टमन्डबाट सिटी आएको पहिलो सिजनमै ती उपाधि चुमेका छन् । यसका साथै उनी विश्वकप विजेता लियोनेल मेसीसँगै बालोन डिओरको प्रबल दाबेदार पनि भएका छन् ।










