३ असार, काठमाण्डौ ।
मनसुनको सुरुवातमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको व्यापक क्षति गरेको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको गोदारले बताए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उनले बताए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन् । यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् ।
मेहेलेकै अर्का एकजना भरत तामाङ पनि बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङ ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् ।
बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।
यसैबीच आज पनि पाँचथर, ताप्लेजुङ र संखुवासभासहित ८ जिल्ला भई वहने नदी÷खोलामा बाढी आउने सम्भावना रहेकाले उक्त नदी÷खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । यसमा पनि पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ भने बाँकी जिल्ला भई बग्ने नदीमा मध्यम जोखिम रहेको बाढी महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ । महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र पर्सि (मंगलबार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ । तसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।