भोजपुर :नेतृविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भए लगत्तै पुन ः पक्राउ परेका छन् । विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योग मुद्दामाथि हरिशचन्द्र इङ्नामको एकल इजलासले प्रकाण्डलाई ६० हजार धरौटीमा रिहा गरेको थियो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।
बुधबार भोजपुर अदालतमा प्रकाण्डलाई उपस्थित गराइएकोमा न्यायाधिश हरिशचन्द्र इङ्नामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरेको हो ।
भोजपुरको तत्कालिन कोट गाविस र हालको ट्याम्केमयुँ गाउँपालिका – ६ स्थित गुम्बामा गत कात्तिक २८ गते बम बिष्फोटमा २५ हजार , षडानन्द गाउँपालिका वडा नं १३ भिरथाप्लामा भएको बम बिस्फोटमा २५ हजार रुपैँया र सिल्पासिलिछो गाउँपालिका –२ स्थित सहकारी टोलमा बाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम बिस्फोटमा १० हजार गरी जम्मा ६० हजारमा छुटेको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले भने प्रकाण्डलाई छुट्न नपाउँदै पक्राउ गरी दाङ तर्फ लाने भएको छ । कुन मुद्दामा दाङ लानेबारे आफुलाई थाहा नभएको प्रहरी उपरीक्षक केशव कुमार थेवेले बताए ।