२४ भदौ, विराटनगर ।
संघीय सरकार र प्रमुख दलका शीर्ष नेताहरुलक्षित आरोप, आलोचना, चेतावनी र टिप्पणी गर्न माहिर धरान उपमहानगरका मेयर हर्क साम्पाङ स्वयंले भने आफूसँग सवालजवाफ गर्ने युवकमाथि जनप्रतिनिधिको कर्तव्य विपरित गएर असहिष्णु व्यवहार गरेका छन् । आफूलाई प्रश्न सोधेकै कारण एक युवालाई उनले गुण्डा भन्दै प्रहरीको हिरासतमा पु¥याएका छन् ।
शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका थिए । उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए । त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो ।
त्यसपछि नगर प्रहरी लगाएर पक्राउ गरिएका लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको थियो । तर मेयरले थुनाएका लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाएका छन् । लिम्बु केही समयअघिमात्र वैदेशिक रोजगारीबाट फर्केका थिए । उनीसहितको टिमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेका थिए ।
त्यसबेला नआउने नगरपालिकाले अहिले आएर उनीहरूको फोटो खिचेकोमा लिम्बुले प्रश्न गरेका थिए । मेयर हर्कले भने अशोकलाई गुण्डागर्दीको आरोपमा पक्राउ गराएका हुन् । अशोक छुटेपछि पनि मेयरले सदाझैँ फेसबुकमार्फत गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन् ।
स्थानीयका अनुसार वैदेशिक रोजगारीबाट फर्केका अशोक गुण्डागर्दी र गलत क्रियाकलापमा संलग्न भएको अहिलेसम्म कतै पनि भेटिएको छैन । बरु उनले डेंगुबाट संक्रमित भएका तर परिवारमा सबै अपांगतावरण गरेका कारण उपचार नपाएकाहरूको उपचारमा चन्दा संकलन गरेको पाइएको छ ।
यता आफूसँग सवाल–जवाफ गरेकै रिसमा अशोक लिम्बुलाई प्रहरीको हिरासत पु¥याएकामा वडाध्यक्ष नरेश इवारामले मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन् । इवाराम भन्छन्, ‘मेयर साम्पाङ राजा बन्न खोज्दा’ स्थानीय युवक अशोकले अनाहकमा दुःख पाए । जनप्रतिनिधि जनताको शासक होइन, सेवक हो भन्ने नबुझ्दा त्यस्तो घटना भएको उनको टिप्पणी छ ।
मेयर साम्पाङले भने अराजकतालाई लोकतन्त्र भन्न नसकिने टिप्पणी गरेका छन् । ‘अराजकतालाई लोकतन्त्र भन्दिनु पर्ने हो’, मेयर साम्पाङले भनेका छन्, ‘प्रश्न सोध्ने समय हुन्छ । तरिका हुन्छ । स्थान हुन्छ । विधिको शासन पालना गर्छु र गराउँछु । जनताको दुःख म बुझ्छु’, हर्कले भनेका छन् । पछिल्लो समय मेय हर्क धरानमा विभिन्न घटनामा दिएका अभिब्यक्तिका कारण पनि आलोचित बन्दै आएका छन् ।