भारतसँग हारे पनि नेपाललाई कास्य पदक

भारतसँग हारे पनि नेपाललाई कास्य पदक

१९ असोज, एजेन्सी ।
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत आज विहान भएको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ । यद्यपी सेमिफाइनलमा पराजित भएपछि पनि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ । यता पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोली पदक जित्न सफल भएको हो । महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्लादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा सोमवार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलवार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो ।

नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए । एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात ७ देश सहभागी छन् । यसअघि इरानले १८ औँ एसियाली खेलकुदमा महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.