शेयर धितो कर्जा २० करोड, के अब बजार फर्किन्छ ?

१९ असोज ८०, शुक्रबार
Share this
765shares

१९ असोज, काठमाण्डौ ।
केन्द्रीय बैंकले मार्जिन प्रकृतिका शेयर धितो कर्जाको सीमा बढाएको छ । बुधबार साँझ केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै सेयर धितो कर्जाको सीमा २० करोडसम्म पुर्याइदिएको हो । दुई वर्षपछि बैंकले सेयर धितो कर्जाको सीमा ८ करोड रुपैयाँले बढाइदिएको छ ।

Advertisement

तीव्र आयात, घट्दो रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चितिमा चाप परेसँगै केन्द्रीय बैंकले गत आर्थिक वर्ष, २०७७÷०७८ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिका सेयर धितो कर्जालाई नियन्त्रण गर्नेगरी ४÷१२ को सीमा तोकिदिएको थियो ।

अर्थात् व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा पाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको थियो । तर, सेयर बजारप्रति राष्ट्र बैंक अनुदार भएको, समग्र पुँजी बजार नै ध्वस्त बनाउन लागेको भन्दै लगानीकर्ताहरु गभर्नरको विरुद्धमा लागेपछि आर्थिक वर्ष, २०७८÷०७९ को मौद्रिक नीतिमार्फत बैंकले ४÷१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा १२ करोडमात्र कायम गरिदियो ।

Advertisement

यसै कारण ३२ सय अंकमाथि पुगिसकेको शेयर बजार सरकारकै गलत नीतिका कारण १८ सयमा झरेको आम लगानीकर्ताहरुको आरोप छ । लामो समयको कर्जा सीमाले बजार धरासायी भएको आरोप लागेपछि केन्द्रीय बैंकले बुधबार निर्देशिका संशोधनमार्फत शेयरधितो कर्जाको १२ करोडको अन्तिम सीमालाई वृद्धि गर्दै २० करोडसम्म पुर्याइदिएको छ ।

संशोधित निर्देशिकाको बुँदा नम्बर ४ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यवस्था गर्दै केन्द्रीय बैंकले कुनै एक वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम् एकल ग्राहक कर्जा सीमा कुल रु.१५ करोड र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु.२० करोड कायम गरिएको बताएको छ ।

Advertisement

कर्जाको सीमा बढेपनि ठूला लगानीकर्ताले उत्साहजनक नरहेको बताएपनि सानालगानीकर्ताहरु भने उत्साहित बनेका छन् । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। अघिल्लो साता २००४.३ अंकमा बन्द भएको बजार यो साता १९५६.३ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ४७.३८ अंकको गिरावट आएको छ।

यो साताको बजारलाई विभिन्न इन्डिकेटर तथा क्यान्डल स्टिकमार्फत हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको शेयर विश्लेषकहरुले बताएका छन् । तर डेली बेसमा हेर्दा साताभर बजार करिब ५० अंकको उतारचढाव भएको देखिन्छ। अर्थात् यो साता बजार १९५० भन्दा माथि–माथि टिकेर बन्द भएको छ।

पछिल्लोपटक १९३० मा सपोर्ट लिएर करिब १०० अंकको बढोत्तरी आएपछि बजारले १९५० मा दुईपटक सपोर्ट लिएको छ। अब आगामी कारोबार यदि उक्त विन्दुबाट पनि तल जान्छ भने बजार केही समय सइडवेज चल्न सक्ने र त्यहाँबाट माथिको यात्रा लिए २००० भन्दा माथि कारोबार हुन्छ भने बजारले फेरि माथिको यात्रा पनि तय गर्न सक्ने विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top