११ मंसिर, काठमाण्डौ ।
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द हटाइएको छ । शनिबार विर्तामोडस्थित इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको हो ।
कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गराएकोप्रति राजनीतिक दलहरुले आपत्ति जनाउँदै कलेजमाथि कार्वाहीको माग गरेका थिए । देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ लेखिएको शिलालेख प्रशासनको चेतावनीपछि कलेजले हटाएको हो ।
इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाउने चेतावनी बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले दिएका थिए । कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने उनले बताएका छन् ।
गैरकानूनी रुपमा शिलालेख लेखेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि स्पष्टिकरण सोधेपछि इकम कलेजले ‘श्री ५ बडामहाराजधिराज’ लेखिएको शिलालेख हटाएको हो ।कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन् ।
सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताएका छन्।अब शिलालेखमा पूर्वराजा भनेर लेखिने उनले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले श्री ५ बडामहाराजधिराज लेखेको बारेमा स्पष्टीकरण सोधेपछि कलेज प्रशासनले शिलालेख हटाएको हो ।
शनिबार कलेजले स्थापना गरेको शालिक अनावरण गर्न पूर्वराजालाई निम्त्याएपछि राप्रपाले उनको पक्षमा व्यापक जनप्रदर्शन गरेको थियो । राप्रपाको अगुवाईमा झापामा ठूलो संख्यामा राजावादीहरु सहभागि भएका थिए । झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट ¥याली निकालेको थियो ।